मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा !!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङदीलाई ३-१ ले हराएको छ ।

 

 

 

 

 

खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए ।

 

 

तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । खेलको ४२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीका लागि अग्रता लिने राम्रो मौका पनि खेर फालेका थिए । तर त्यसको ३ मिनेटपछि नवयुगले पाएको अर्को अवसर भने परिणत गर्दै आर्मीलाई खेलमा पहिलो पटक अग्रता दिलाए ।

 

 

खेलको ६१ औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर उनले खेर फालेका थिए । त्यस्तै ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापा मगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाएका थिए ।

 

 

त्यस्तै खेलको ८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । खेलका म्यान अफ द म्याच नवयुगले जितेका थिए । यस जितसँगै आर्मी फाइनलमा पुगेको छ र भोली हुने सुदुरपश्चिम र एपिएफको विजेतासँग फाइनलमा भिड्ने छ ।

 

 

धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेका थिए । यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेका पनि थिए । जसमध्ये २ मा आर्मी र १ मा मनाङ विजयी भएका छन् । यी दुई टोलीबीच आजको भेट वर्षको चौथो भेट हो ।

 

 

क्वार्टरफाइनलमा अग्नी रुपन्देही ११ लाई ४–० ले हराएको २४ घन्टा भन्दा कम समयमा मनाङ सेमिफाइनलका लागि उत्रिएको हो । आर्मीले भने रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको दुई दिन पछि सेमिफाइनल खेल्दै हो ।

 

 

गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा मनाङलाई हराएको आर्मी दुहवी गोल्ड कपमा भने पराजित भएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीच आजको भेट पहिलो थियो ।

 

 

खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

तपाईंको प्रतिकृयाहरू

Loading…