पूजा शर्माको नयाँ चलचित्रबाट १० लाख पारिश्रमिक लिएका माग्नेबुढाले के केमा लगानी गर्दैछन् त ?

काठमाडौं, २७ पुस । एउटा चलचित्रबाट १० लाख पारिश्रमिक लिएपछि यतिबेला केदार घिमिरे उर्फ माग्नेबुढा चर्चामा छन् । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रका लागि माग्नेबुढा महँगो रकममा अनुबन्धित भएका हुन् । उनले डेढ लाख रकम कर तिर्ने सहमतिमा १० लाख पारिश्रमिक लिएका छन् ।

पूजा शर्मा, केदार घिमिरे, विल्सनविक्रम राई र रविन्द्र झाको मुख्य भूमिका रहने पक्का भइसकेको छ । अन्य कलाकार फाइनल हुन बाँकी छ । नायकको चयन भइसके पनि सार्वजनिक गरिएको छैन । महँगो रकममा चलचित्रमा अनुबन्ध भएपछि माग्नेबुढा बुधबार दिनभर चर्चामा रहे । हास्य कलाकार यति धेरै रकममा अरुको ब्यानरमा अनुबन्ध भएको यो पहिलो पटक हो ।

जितु नेपाल उर्फ मुन्द्रेले त माग्नेबुढालाई ‘दस लाखे केदार’ भनेर विशेषण नै दिएका छन् । ‘कलाको कुनै मूल्य हुँदैन, कलाकारको पारिश्रमिक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथि जानु हो, त्यसैले, १० लाखे केदारलाई बधाई,’ नेपालले लेखेका छन् ।

कलाकार माग्नेबुढाले भने दस लाख पारिश्रमिक लिएको विषयलाई धेरैले नपत्याएको बताएका छन् । उनले बिहीबार फेसबुकमार्फत सो तथ्य खोलेका हुन् । ‘हिजो दिनभरि आएका प्रश्नहरू, ओहो केदारजी दस लाखै लिएको हो ? होइन होला ? साँच्चै हो नि ? हामलाई त सत्य कुरा भन्नू न, धरोधर्म ? मिडियामा भन्ने त दस होला, खास लिएको चैं कति ?’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कलाकारले लिने दाम र भन्ने दाम फरक हुँदोरहेछ ।’

उनले आफूले पाएको पारिश्रमिक के केमा खर्च गरिँदैछ भन्ने व्यंग्यात्मक रूपमा लेखेका छन् । ‘मैले पाउने दस लाखमध्येबाट डेढ लाख राज्यलाई कर तिर्छु, र एक लाख समाजसेवामा लगाउँछु, बाँकी रहेको रकम बोर्डिङ स्कुलमा, कलेजमा, हस्पिटलमा, किराना पसलमा, ममः पसलमा, तरकारी पसलमा, कपडा पसलमा, इन्टरनेटमा, पेट्रोलपम्प आदिमा लगानी गर्ने विचार गर्दैछु,’ माग्नेबुढाको व्यंग्य छ । माग्नेबुढाले दीपकराज–दीपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ पछि मात्र पूजा शर्माको नयाँ चलचित्रमा खेल्नेछन् ।

तपाईंको प्रतिकृयाहरू

Loading…