Loading…

आगमी शैक्षिक सत्रमा पुस्तक अभाव हुने संकेत

0
Shares

बुटवल, १२ चैत । आगमी शैक्षिक सत्रमा पनि विद्यार्थीले पुस्तक पाउने संकेत देखिएको छैन । आउंदै गरेको बैशाक १ गतेदेखि शैक्षिक सत्र सुरु हुंदैछ । तर अहिलेसम्म पुस्तक पसलहरुमा समेत पुस्तक उपलब्ध गराईएको छैन ।

सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रले नयां शैक्षिक सत्र सुरुहुनै लाग्दापनि पुस्तकहरु वितरण गरेको छैन ।
गत वर्षहरुमा चितवनबाट पुस्तक वितरण गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन नसकेपछि अहिलेदेखि जनक शिक्षाले बुटवलबाटै पुस्तक वितरण गर्ने तयारी गरेको छ । पुस्तक वितरणका लागि बुटवलको लक्ष्मीनगर गेट नजिकै कार्यालय स्थापना गरेको छ । तर अहिलेसम्म कार्यालयको नै व्यवस्थापन गरिएको छैन । जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीले यो शैक्षिक सत्रमा पनि विद्यार्थीले समयमा पुस्तक पाउने सम्भावना नरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपमहासचिव मनहरि वस्यालले बताए ।

विद्यार्थीलाई समयमै आवश्यक पुस्तकहरु उपलब्ध गराउन जनक शिक्षाले ढिलो गरिसकेको उनले बताए । पुस्तक व्यवसायी वस्यालका अनुसार लुम्बिनी अञ्चलका सबै जिल्लाका विद्यार्थीका लागि करिव ४ टन पुस्तक चाहिने र उक्त ४ टन पुस्तकहरु वितरण गर्नमात्र २० दिन बढीको समय लाग्ने छ । विशेष गरेर सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले पुस्तक अभावको समस्या भोग्दै आएका छन् । गत वर्षको शैक्षिक सत्रमा ६,७ महिनासम्म पनि विद्यार्थीले पुस्तक पाउन सकेनन् ।
ऐच्छिक अर्थशास्त्र र जनसंख्या विषयका पुस्तकहरु विद्यार्थीले नपाउंदै शैक्षिक सत्र सकिएको पुस्तक व्यवसायीले बताएका छन् । नीजि क्षेत्रका विद्यालयहरुले समयमा पुस्तकहरुको सूची सार्वजनिक गरेमा समयमा नै पुस्तक वितरण गर्न सकिने र सरकारी विद्यालयका लागि जनक शिक्षाका कारण समयमा उपलब्ध गराउन नसकिने व्यवसायीले बताएका छन् । नीजि क्षेत्रका विद्यालयहरुका लागि पव्लि केशनहरुको विकल्प छ ।
तर सरकारी विद्यालयका लागि जनक शिक्षा सामाग्री केन्द्रको अर्को कूनै विकल्प नभएकाले वर्षौदेखि सरकारी विद्यालयका विद्यार्थी ठगिदै आएका छन् । सरकारी विद्यालयका विद्यार्थीलाई जनक शिक्षा सामाग्री केन्द्रले छापेका मात्र पुस्तक पढ्नुपर्ने सरकारी बाध्यता छ । नेपाल सरकारले जनक शिक्षालाई पुस्तक छापेर वितरण गर्न जिम्मा दिएपनि उसले समयमा पुस्तक छाप्न नसक्दा विद्यार्थी पढ्न पाउने अधिकारबाट बन्चित हुंदै आएका छन् । स्थानीय तहबाट पुस्तकका लागि पैसा निकासी भएपनि बजारमा पुस्तक आएका छैनन । समयमा नै पुस्तक नपाउंदा कोर्षमा भएका सबै विषयवस्तु पढ्नबाट विद्यार्थी बन्चित बन्दै आएका छन् । सरोकारवाला निकायहरु यस विषयमा मौन रहेका छन् । जनक शिक्षा सामाग्री केन्द्रको विकल्पमा कोही बोल्न चाहादैनन् ।

तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…