Loading…

मलेसियामा नेपाली साहुनी (भिडियो अन्तर्वार्ता)

0
Shares

काठमाडौं, चैत ९ – मलेसियामा नेपाली कामदार जुन जुन ठाउँमा रहेर काम गर्छन्, ती क्षेत्रमा नेपाली रेष्टुराँ खुलेका छन् । नेपालमै पाइने खालका फेन्सी सामान पाइने पसल पनि छन् । त्यस्तै मध्येको एउटा ठाउँ हो जोहोरबारुको गेलाङपाता ।

जहाँ उत्पादनमुलक क्षेत्रमा काम गर्ने धेरै नेपाली भेटिन्छन् । हप्ताभरी काम गरेर छुट्टी मनाउन धेरैजसो नेपाली कामदार खानपान र भेटघाट गर्न नेपाली रेष्टुँरा पुग्छन् । गेलाङपातामा मोरङको विराटनगर महानगरपालिका २० रानीका बेदना श्रेष्ठको रेष्टुराँ र फेन्सी पसल छ ।

६५ हजार रिंगिट (१६ लाख ५० हजार रुपैयाँ, त्यसबेलाको सटही दर अनुसार) लिएर सन् २०११ मा मलेसिया पुगेकी बेदनाको पसलमा ६ जना नेपाली सहित ८ जनाले रोजगारी पाएका छन् । सुरुमा रोजगारीका लागि सिंगापुर पुगेकी बेदना मलेसियामा भने व्यवसायी बन्नुभएको छ ।

भीसा नविकरण गरिदिएको भए बेदना यतिबेला बेला सिंगापुरमा भेटिनुहुन्थ्यो । तर भीसा नविकरण नभएपछि उहाँ ४ वर्ष रोजगारी गरेको देश सिंगापुरको बसाई टुंग्याएर नेपाल फर्कनुभयो । सिंगापुरमा बेदनाको काम थियो रेष्टुँरामा ।

काम र कमाई चित्तबुझ्दो भएपनि सिंगापुर सरकारले भीसा नदिएपछि उहाँ नेपाल फर्कनुभयो । यो सन् २०११ को कुरा थियो । १० वर्षको विदेश बसाईले उहाँलाई कामदार हुँदै व्यवसायी बनाएको छ । सिंगापुरबाट फर्केपछि उहाँको मन नेपालमा अडिएनन् । त्यसै साल उहाँ मलेसियाको जोहोरबारु पुग्नुभयो । यो पटक भने उहाँ काम गर्न नभएर व्यापार गर्न उहाँ सात समुन्द्र पारी पुग्नुभएको थियो ।

तर अहिले पनि दूरीका हिसावले बेदना सिंगापुर भन्दा धेरै टाढा हुनुहुन्न । जोहोरबारुको गेलाङपातामा बेदनाको व्यापार छ । पारीपट्टि सिंगापुर । सिंगापुरको कमाई र घरबाट थोरैतिनो रकम थपथाप गरेर व्यापार गर्न मलेसिया छिरेको गएको अगष्टमा ६ वर्ष पूरा भयो ।

सर्लक्कै परेको सडकले जोहोरबारुको सेन्ट्रल र गेलाङपातालाई जोड्छ । तर ती दुई ठाउँको चमकधमक भने फरक छन् । सेन्ट्रलको जस्तो भिडभाड तामानपुत्रीमा छैन । तर सेन्ट्रलमा खुलेका र गेलाङपातामा रहेको बेदनाको रेष्टुराँको भिडभाड भने उस्तै उस्तै छ ।

पछिल्ला दिनमा रोजगारी गर्न विदेश जाने महिलाको संख्या बढिरहेको छ । असुरक्षाका कारण भन्दै सरकारले घरेलु काममा जान रोकेपनि अरु काममा जस्तै, उद्योग मजदुर, होटल, कृषि जस्ता क्षेत्रमा नेपाली महिला रोजगारी गर्न विदेश गइरहेका छन् ।

बेदना जस्तै विदेशमा व्यापार गर्ने महिलाको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार झण्डै दुई लाख जना महिलाले रोजगारीका लागि विदेशमा काम गर्न जान अन्तिम श्रमस्वीकृति लिएका छन् ।

उज्यालो ।
तपाईंको प्रतिकृयाहरू
0
Shares

Loading…

Loading…